२८ मंसिर, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोगबाट पीडित १९ जना बिरामीलाई कुल ८ लाख ५० हजार रुपैयाँ बराबरको उपचार सहायता प्रदान गरेको छ।
उपचार कार्यविधि–२०८२ अनुसार उपचार सहायताका लागि परेका निवेदनहरूको प्रक्रिया पूरा गरी योग्य ठहरिएका बिरामीहरूलाई आर्थिक सहयोग उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकामा उपचार सहायताका लागि ६१ जनाबाट निवेदन प्राप्त भएको थियो।
ती निवेदनहरूलाई कार्यविधिअनुसार छानबिन तथा मूल्याङ्कन गर्दा १९ जना निवेदक सहायता पाउन योग्य ठहरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भास्करले जानकारी दिनुभयो।
उहाँका अनुसार योग्य ठहरिएका १९ जना कडा रोगी बिरामीलाई कुल ८ लाख ५० हजार रुपैयाँ उपचार सहायता रकम सम्बन्धित बिरामीहरूको बैंक खातामा प्रत्यक्ष रूपमा जम्मा गरिएको हो। कार्यविधिअनुसार प्रत्येक बिरामीलाई रोगको प्रकृति र अवस्थाका आधारमा न्यूनतम २५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरिएको उपमहानगरपालिकाले स्पष्ट पारेको छ।
यस कार्यक्रममार्फत कडा रोगबाट पीडित नागरिकहरूको उपचारमा केही राहत पुग्ने विश्वास उपमहानगरपालिकाले व्यक्त गरेको छ। उपमहानगरपालिकाका अनुसार जटिल रोग अन्तर्गत कडा तथा मध्यम किसिमका मुटु रोग, मृगौला रोग (प्रत्यारोपण तथा डायलाइसिस), क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइन इन्जुरी, हेड इन्जुरी, अप्लास्टिक एनिमिया, सिकलसेल, थालासिमिया तथा मस्तिष्कघात (स्ट्रोक) लगायतका रोगहरू पर्दछन्।
उपमहानगरपालिकाले उपचार सहायता वितरण प्रक्रिया पारदर्शी, नियमसंगत र निष्पक्ष ढंगले अघि बढाइएको जनाएको छ। आवश्यक कागजात अपुग वा मापदण्ड नपुगेका निवेदकहरूले आगामी दिनमा प्रक्रिया पूरा गरी पुनः निवेदन दिन सक्ने जानकारी दिँदै भविष्यमा पनि यस्ता सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचार सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।















