२८ मंसिर, काठमाडौं । संखुवासभामा श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिने व्यक्ति नै हत्यारा भएको रहस्य खुलेको छ ।
संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पाले आफ्नी श्रीमती मिना शेर्पा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनको जाहेरीअनुसार मंसिर ९ गते राति करिब साढे १० बजेतिर ओखरबोट बजारबाट फर्किँदै गर्दा मिना शेर्पा बीच बाटोबाटै आफैँ हिँडेर बेपत्ता भएको दाबी गरिएको थियो ।
तर, प्रहरीले अनुसन्धान अगाडि बढाउँदै जाँदा मिनाको हत्या भएको र सो हत्या जाहेरी दिने उनै श्रीमान् प्रेम दोर्ची शेर्पाले गरेको खुल्यो । संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार बजारबाट घर फर्कने क्रममा विवाद भएपछि प्रेम दोर्चीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको र त्यसपछि शवलाई त्रिपालले बेरेर खाल्डो खनी गाडेको स्वीकार गरेका छन् ।
घटनाको १९ दिनपछि प्रहरीले हत्या गरेर गाडेको अवस्थामा शव उत्खनन गरी निकालेको छ । पक्राउ परेका प्रेम दोर्चीविरुद्ध अहिले कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।















