२८ मंसिर, काठमाडौं । नेपाल प्रहरीको स्टाफ कलेजका रूपमा सञ्चालित मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) को प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएका यी डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । विशेष गरी २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका र हाल डीएसपी बनेकाहरूले यो प्रवेश परीक्षा दिएका थिए, जसमध्ये १६ जना मात्रै सफल भएका हुन् ।
यद्यपि, नेपाल प्रहरीमा पहिलो पटक २०७० को इन्स्पेक्टर ब्याचबाट लागू गरिएको यो स्टाफ कलेज कोर्सको वैधानिकतामाथि भने प्रश्न उठेको छ । २०७० ब्याचकै केही प्रहरी अधिकृतहरूले प्रहरी ऐन र नियमावलीले नचिन्ने यो कोर्स लागू हुँदा आफ्नो करिअरमा असर पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रहरीमा यो कोर्स पास नगर्नेहरू डीआईजीसम्म बन्न नसक्ने अवस्था सिर्जना हुने बताइएको छ । यसरी १६ जना डीएसपीले प्रवेश परीक्षा पास गरे तापनि यो कोर्सको कार्यान्वयनबारे कानुनी जटिलता कायम नै रहेको देखिन्छ ।















