२८ मंसिर, काठमाडौं । मोरङका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा, ग्रामथान र बुढीगंगा गाउँपालिका क्षेत्रमा भएका यी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान पौने ६ बजेतिर को १ त ६४५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक २६ वर्षीय अतीत राईको मृत्यु भएको छ । प्रहरीले ट्याक्टर चालक ४० वर्षीय प्रेमकुमार राईलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, ग्रामथान गाउँपालिका–२ झोराहाटमा शनिबार साँझ ७स्३५ बजेतिर मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक १८ वर्षीय इशान पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
यसबाहेक, मंसिर १२ गते धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझीको आइतबार बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ३१ वर्षीय धर्मेन्द्र परियारलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















