२८ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा र काजमा अस्थायी रोक लगाएको छ ।
१७९ जना नायब सुब्बा (१३८ जना) र खरिदार (४१ जना) को एकमुष्ट सरुवा गरेलगत्तै मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार, लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार खुला प्रतिस्पर्धा र बढुवाका विज्ञापन प्रकाशन हुने समय नजिकिँदै गर्दा लामो समयदेखि सुगम स्थानमा कार्यरत कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र हतारमा दुर्गम स्थानमा सरुवा हुने प्रवृत्ति देखिएकाले यस्तो निर्णय लिनुपरेको हो ।
विज्ञापन प्रकाशित हुनु ठीक अघि हुने यस्तो सरुवाले लामो समयदेखि दुर्गम क्षेत्रमा सेवा गरिरहेका कर्मचारीहरू बढुवाको अवसरबाट वञ्चित हुने जोखिम बढेको मन्त्रालयको ठहर छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार, राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) का कर्मचारीको सरुवा तथा काज आगामी माघ मसान्तसम्म र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार वा सो सरह) का कर्मचारीको हकमा आगामी फागुन मसान्तसम्मका लागि स्थगित गरिएको छ ।
विभिन्न जिल्लामा दुर्गम सेवाको प्रतिशतसमेत निर्धारण भइसकेको अवस्थालाई ध्यानमा राख्दै, निर्वाचनजस्ता विशेष परिस्थिति तथा पदस्थापनबाहेक अन्य अवस्थामा सरुवा तथा काज रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।















