२८ मंसिर, काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार प्रवेश गर्न नपाएपछि ुजेनजी घाइतेहरूु को समूहले आइतबार सिंहदरबारको पश्चिम गेटअगाडि धर्ना दिएको छ ।
उनीहरूले मुख्यतया रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासित गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड तत्काल रोक्का गर्न माग गरेका छन् । साथै, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा व्याप्त भनिएको भ्रष्टाचारको छानबिनका लागि निष्पक्ष आयोग गठन गर्न र तत्काल बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्न पनि उनीहरूको जोड छ ।
अर्थमन्त्रीलाई भेटेर आफ्ना मागहरू राख्न खोज्दा प्रवेश पास नपाएपछि धर्नामा बस्न बाध्य भएको जेनजी घाइते समूहले बताएको छ । उनीहरूले बोर्ड अध्यक्ष दोषी ठहरिएमा तत्काल बर्खास्त गर्न र भ्रष्टाचारमा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।















