२८ मंसिर, काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित सिड्नीको प्रसिद्ध बन्डी बिच क्षेत्रमा भएको गोलीबारीको त्रासदीपूर्ण घटनामा एक आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ ।
न्यू साउथ वेल्स प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो घटनामा कम्तीमा १२ जना मानिस घाइते भएका छन् । गोलीबारी नियन्त्रणमा लिने क्रममा दुई अधिकारीलाई पनि गोली लागेको बताइएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनालाई ‘स्तब्ध पार्ने र पीडादायी’ दृश्य भनी चित्रण गरेका छन् । एक प्रत्यक्षदर्शीले बीबीसीसँग कुरा गर्दै गोलीबारी सुरु हुँदा उनी बिचमा भइरहेको ‘हनुकाह’ कार्यक्रमबाट आफ्ना बच्चाहरूलाई लिएर भागिरहेको बताए ।
यद्यपि, प्रहरीले भने घटनाको सम्बन्ध सो ‘हनुकाह’ कार्यक्रमसँग जोडिएको छ वा छैन भन्नेबारेमा तत्कालै कुनै जानकारी नभएको स्पष्ट पारेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।















