२९ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारेको निर्वाचन आचारसंहिता-२०८२ सार्वजनिक गरेको छ। आयोगले हाल रायसुझावका लागि सार्वजनिक गरेको आचारसंहितामा निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न केही नयाँ र कडा व्यवस्था थप गरेको छ।
नयाँ आचारसंहितामा निर्वाचनसम्बन्धी सबै खर्च तथा आम्दानी बैंक वा वित्तीय संस्थामार्फत मात्रै गर्नुपर्ने व्यवस्था छ। साथै, खर्चसँग सम्बन्धित सबै बिल, भरपाई र रसिद सुरक्षित राख्नुपर्ने अनिवार्य गरिएको छ।
आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकअन्तर्गत राजनीतिक दल र उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा खर्च हुने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ।
उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र सोही खातामार्फत मात्रै खर्च गर्नुपर्नेछ। साथै, उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र सो पदाधिकारीको नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ।
त्यस्तै, राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्रै खर्च गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रस्तावित आचारसंहितामा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्रै लिनुपर्ने व्यवस्था गरिएको छ। व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद प्राप्त भएमा सो रकमको रसिद वा भरपाई दिई बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
आम्दानी तथा खर्चको सम्पूर्ण विवरण प्रचलित कानुनअनुसार आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा बुझाउनुपर्ने छ। आयोगले आवश्यक ठानेमा खर्चका सक्कल बिल, भरपाई तथा बैंक खाताको विवरण पेश गर्न आदेश दिन सक्ने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।
निर्वाचन सम्पन्न भएपछि उम्मेदवार र राजनीतिक दलले निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार, यी व्यवस्थाले निर्वाचन खर्चको स्रोत र प्रयोगमा पारदर्शिता बढाउने, अवैध खर्च नियन्त्रण गर्ने र स्वच्छ तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।















