Logo

२९ मंसिर, वीरगञ्ज । वीरगञ्जको प्रमुख धार्मिक तथा ऐतिहासिक धरोहर गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण र व्यवस्थापनमा वीरगञ्ज महानगरपालिका सक्रियताका साथ जुटेको छ । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भएपछि क्षेत्र अव्यवस्थित बनेको थियो ।

तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगञ्ज महानगरपालिकाले तत्काल पहल गर्दै आजदेखि पुनःव्यवस्थापनको काम अघि बढाएको हो ।

नगर प्रमुख राजेशमान सिंहले मन्दिर परिसरको पुनःव्यवस्थापन कार्यलाई प्राथमिकतामा राखी बिहानैदेखि काम सुरु गराएका छन् ।

मेयर सिंहले भने, “मन्दिर परिसरमा सुरक्षात्मक संरचना पुनःनिर्माण, सौन्दर्य अभिवृद्धि र आवागमन व्यवस्थापन चरणबद्ध रूपमा गरिनेछ । भविष्यमा यस्ता घटनाबाट धार्मिक सम्पदामा क्षति नहोस् भन्ने उद्देश्यले थप सुरक्षा र व्यवस्थापनका उपाय पनि अपनाइने छन्।”

उनले महानगरपालिकाले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

गहवामाई मन्दिर वीरगञ्जको आस्थाको केन्द्रका रूपमा परिचित छ । दैनिक सयौँ भक्तजन तथा दर्शनार्थी आउने यस क्षेत्रमा देखिएको अव्यवस्थाले धार्मिक गतिविधि र सर्वसाधारणको आवतजावतमा प्रत्यक्ष असर परेको थियो ।

मन्दिर परिसरमा देखिएको अव्यवस्थाले चिन्तित बनेका स्थानीयवासी तथा भक्तजनहरूले महानगरको यो पहललाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले तत्काल मर्मत तथा पुनःव्यवस्थापन सुरु गरेकोमा महानगरपालिकालाई धन्यवाद दिँदै काम चाँडो सम्पन्न गर्न आग्रह गरेका छन् ।

गहवामाई मन्दिर परिसरमा महानगरपालिकाको यो सक्रियताले धार्मिक सम्पदाको संरक्षण र सार्वजनिक व्यवस्थापनप्रतिको संवेदनशीलता देखाउँछ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिलाई पुनस्र्थापित गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन सुरक्षा योजना बनाउनु वीरगञ्ज महानगरका लागि अबको चुनौती हो ।


सम्बन्धित समाचार