२९ मंसिर, काठमाडौँ । अस्ट्रेलियाको बोन्डी बिचस्थित एक क्षेत्रमा आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा मरिनेको संख्या १५ पुगेको छ ।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमध्ये एक आक्रमणकारी पनि रहेका छन् ।
प्रहरी आयुक्त माल लानियोनका अनुसार, आक्रमणकारी बुबा र छोरा हुन् । बुबा ५० वर्षका र छोरा २४ वर्षका छन्। प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई घटनास्थलमै गोली हानी मारिएको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन् ।
घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीसहित ४२ जनालाई अस्पतालमा लगिएको छ। अनुसन्धानका क्रममा ५० वर्षीय पुरुष आक्रमणकारीसँग हतियारको लाइसेन्स रहेको पाइएको छ। उनको नाममा छवटा हतियार दर्ता गरिएको थियो, जुन घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, घटनास्थलमा दुई सक्रिय विस्फोटक उपकरण पनि फेला परेका थिए, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणविरुद्ध आवश्यक सबै स्रोतसाधन परिचालन गरिने बताएका छन्। उनले अस्ट्रेलियाली समाजमा यहुदीविरोधी भावनालाई पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
विशेषज्ञहरूले घटनालाई धेरै रणनीतिक रूपमा योजना बनाएर आक्रमण भएको बताउँदै सुरक्षा निकायलाई सतर्क रहन सुझाव दिएका छन् ।
















