२९ मंसिर, काठमाडौँ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया काठमाडौंमा सुरु भएको छ। सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकिएसँगै उम्मेदवारका लागि मनोनयन प्रक्रिया पनि अघि बढेको हो।
महाधिवेशनका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण जारी छ भने आज दिउँसो १:३० बजेसम्म दर्खास्त फारम दर्ता गर्ने समय तोकिएको छ। प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारको नामावलीमा उजुरी दिने समय साढे २ बजे देखि ३ बजे सम्म तोकिएको छ।
उजुरीमाथि आवश्यक जाँचबुझको प्रक्रिया सम्पन्न गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।
नयाँ कार्यसमिति चयनका लागि मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यतालिका तयार पारिएको छ।
एमाले भित्रको चुनावी प्रक्रिया पार्टीको नेतृत्व र आगामी रणनीतिका लागि निर्णायक रहेको हुँदा यसमा पार्टीभित्रको बहस, उम्मेदवारको सूची र मतदाताको सक्रियता विशेष महत्व राख्ने अनुमान गरिएको छ।
















