Logo

२९ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्रको संवेदनशील विवरणहरूमाथि गैरकानुनी रूपमा हेरफेर गरी त्यसलाई ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक कर्मचारीसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्जीकरण विभागका २८ वर्षीय कर्मचारी सुनित रेग्मी र गोरखा नगरपालिका–१० घर भई हाल ललितपुर बस्ने २८ वर्षीय आशिष बाबु कुमाल रहेका छन् । गलत मनसाय राखेर विभागको आधिकारिक युजर आईडी र पासवर्डको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिका विवरणहरूमा हेरफेर गरेको र राष्ट्रिय परिचयपत्र जारी गर्ने प्रक्रियालाई गैरकानुनी रूपमा अघि बढाएको प्रहरीको भनाइ छ ।

यसरी उनीहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ अन्तर्गतको कसुर गरेको ठहर गर्दै सीआईबीले अनुसन्धान सुरु गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको छ ।


सम्बन्धित समाचार