१ पुस, वीरगञ्ज । वीरगञ्जमा सञ्चारकर्मीहरूको लागि आर्टिफिसियल ईन्टेलिजेन्ट्स (एआई) प्रयोगसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
मधेस प्रदेश सरकारअन्तर्गत आमसञ्चार प्राधिकरण, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा सोमबार आयोजित तालिममा पर्साका विभिन्न सञ्चार माध्यममा आबद्ध ८५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि मधेस प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीले अहिले कम्प्युटर र प्रविधिको युग भएकाले पत्रकारहरूका लागि एआई सम्बन्धी तालिम अत्यन्त उपयोगी हुने बताए ।
उनले समाज र राज्यका लागि सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै एआईको प्रयोगबाट गरिने पत्रकारिता जिम्मेवार, तथ्यपरक र सकारात्मक हुनुपर्नेमा जोड दिए।
पूर्वमुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा मधेस प्रदेशमा आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल स्थापना गरिएको स्मरण गर्दै सञ्चारक्षेत्रलाई अपेक्षाअनुसार सहयोग गर्न नसकेको स्वीकार गरे ।
उनले कोरोना महामारीका बेला सञ्चारकर्मीका लागि ५० लाख रुपैयाँको बीमा गर्ने निर्णय गरिएको भए पनि सरकारभित्रकै अवरोधका कारण कार्यान्वयन हुन नसकेको बताए ।
संघीयताको सुदृढीकरणमा सञ्चार माध्यमहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले संघीयतालाई थप संस्थागत गर्न र मुलुकको राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अपरिहार्य हुने उनले बताए।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, विश्व पत्रकार महासंघका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिमको उद्घाटन सत्रको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए । तालिममा पत्रकार सुरेश विडारी र प्रकाश मैनालीले सहजीकरण गरेका जानकारी आमसञ्चार प्राधिकरण मधेस प्रदेशकी प्रशासन प्रमुख रञ्जिता साहले दिएकी छन् ।
















