१ पुस, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिकामा आफ्नो संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ सोमबार पहिलो महानगर भेला सम्पन्न गरेको छ। भेलाले युवा नेता अमन आलमको नेतृत्वमा २५ सदस्यीय नयाँ महानगर समिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ र सहसचिवमा मुना साह चयन भएका छन्। रास्वपा पर्साका अध्यक्ष हरि पन्तले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले पार्टीका मूल सिद्धान्त र उद्देश्यलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यवाहक सभापति तथा पूर्वमन्त्री डीपी अर्यालले आगामी निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमत हासिल गर्ने दाबी गरे। उनले वर्तमान राजनीतिक परिस्थितिमा जनताको भरोसा एक मात्र राजनीतिक दलका रूपमा रास्वपामाथि केन्द्रित भएको दाबी गरे।
अर्यालले निवर्तमान सरकारले निरंकुश ढङ्गबाट युवाहरूको हत्या गरेर जनादेश गुमाइसकेको आरोप लगाउँदै नेपाली जनताले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई स्वीकार गरिसकेको बताए। उनले पर्सा जिल्ला र वीरगञ्ज महानगर देशकै महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै यहाँको विकास, उद्योग, व्यवसाय र बजार प्रवर्द्धन आगामी दिनमा बन्ने रास्वपा नेतृत्वको सरकारले प्राथमिकतामा राख्ने बताए।
यस अवसरमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का वीरगञ्ज महानगर उपाध्यक्ष परवेज आलम रास्वपामा प्रवेश गरेका छन्। मधेस केन्द्रित दलहरूले मधेसी मुद्दालाई सत्ता प्राप्तिको औजार मात्र बनाएको आरोप लगाउँदै उनले अबको वैकल्पिक राजनीतिक शक्ति रास्वपा रोजेको बताए। उनले आफूजस्तै सयौँ युवाहरू रास्वपासँग जोडिन तयार रहेको दाबीसमेत गरे।
कार्यक्रमको समापन गर्दै पार्टीका जिल्ला सभापति हरि पन्तले पर्सा मात्र नभई समग्र मधेस प्रदेशमा रास्वपाप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको बताए। उनले पर्सामा पार्टीको यात्रा संघर्षपूर्ण रहे पनि अहिले रास्वपा जिल्लाकै एक प्रमुख राजनीतिक शक्तिका रूपमा उभिँदै गएको दाबी गरे। साथै, आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रबाट रास्वपाले उम्मेदवार उठाउने जानकारी पनि दिए।
हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठन विभाग प्रमुख शङ्कर श्रेष्ठ, केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश महामन्त्री मनिष साह, प्रचार विभाग प्रमुख रामकुमार सर्राफसहित क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाज आलम, जितेन्द्र मिश्र र मनोजकुमार कुर्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम सञ्चालन पार्टी नेता कृष्णा पासवानले गरेका थिए। निर्वाचन मण्डलका सदस्यहरू रञ्जित राम, प्रमोद रायमाझी र सबु कडेंलको उपस्थितिमा सम्पूर्ण नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।















