Logo

१ पुस, जनकपुर । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् सोमबार विस्तार गरिएको छ। सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई नयाँ मन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री बनेकी छिन् भने नेकपा (माओवादी केन्द्र) बाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।

यसअघि गत २१ मंसिरमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जनमत पार्टीका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

यससँगै मधेस प्रदेशको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ। हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा र नेकपा (माओवादी केन्द्र)का एक-एक मन्त्री रहेका छन्। जनता समाजवादी पार्टी (जसपा) हालसम्म सरकारमा सहभागी भएको छैन।

गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय गरेका छन्।


सम्बन्धित समाचार