१ पुस, काठमाडौँ । एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान असम्भव छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजे देखि बेलुका ७ बजे सम्म मतदानको समय तोकेको थियो र ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने तयारी गरिएको थियो। तर आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाका अनुसार अन्तिम नामावली प्रकाशन पछि मेसिनमा नामावली लोड हुन कम्तिमा १६ घण्टा लाग्ने भएकाले आज मतदान सम्भव नहुने निश्चित भएको छ। उनले भोलि बिहानदेखि मतदान सुरु हुने सम्भावना रहेको बताए। सुब्बाले सहमति खोज्ने प्रयास पनि भइरहेको जानकारी दिए।
उनका अनुसार बुधबार मतदान सम्पन्न भए बिहीबार साँझसम्ममा परिणाम सार्वजनिक गरिने छ।
एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११औँ महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यसैगरी वरिष्ठ उपाध्यक्ष रहँदै आएका पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। दुवैले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्।
एमालेमा पदाधिकारीमा जम्मा ४२ जनाले उम्मेदवारी दिएका छन्। प्रारम्भिक सूची अनुसार उपाध्यक्षका लागि ११, महासचिवका लागि २, उपमहासचिवका लागि ७ र सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ।
महासचिवका उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेका अलावा उपाध्यक्ष र सचिवमा बढी प्रतिस्पर्धा देखिएको छ। महासचिवका दावेदार प्रदीप ज्ञवालीले केवल केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
उपाध्यक्ष पदका लागि ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बा उम्मेदवार छन्। पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्कीले उम्मेदवारी दिएका छन्। दुवै पक्षको साझा उम्मेदवार बन्न खोजिरहेका रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन्।
उपमहासचिव पदका लागि ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट, पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरी उम्मेदवार छन्। पूर्व प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिएका छन्।
सचिव पदका लागि ओली समूहबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेत, पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्काले उम्मेदवारी दिएका छन्। यसैगरी पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र पूर्वमन्त्री लालबाबु पण्डितले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।















