१ पुस, वीरगञ्ज । बाक्लो हुस्सुका कारण भारतको उत्तर प्रदेशस्थित मथुरामा दिल्ली-आग्रा राष्ट्रिय राजमार्गमा आज बिहानै ठूलो सडक दुर्घटना भएको छ । बलदेव थाना क्षेत्र नजिक भएको यो दुर्घटनामा सातवटा बस र तीन साना गाडी आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
मथुराका एसएसपी श्लोक कुमारले कुहिरोका कारण कम भिजिबिलिटी हुँदा सवारीहरू ठोक्किएको पुष्टि गरेका छन् । प्रारम्भिक जानकारी अनुसार, तीव्र गतिमा आएका सवारी साधनहरू एकपछि अर्को गर्दै ठोक्किन पुगेका थिए ।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै भारतीय प्रहरीले दुर्घटनापछि ठोक्किएका केही बसहरूमा आगो लागेको जनाएको छ । बसमा सवार एक प्रत्यक्षदर्शीका अनुसार, सातवटै बस आपसमा ठोक्किएपछि बसमा आगो लागेको थियो । दुर्घटना हुँदा यात्रुहरू सुतिरहेका थिए र दुर्घटनापछि सबैले आफ्नो ज्यान जोगाउन भागेका थिए । यद्यपि, आगो कसरी लाग्यो भन्ने विषयमा भने स्पष्ट जानकारी आउन बाँकी छ । यस घटनाले त्यस क्षेत्रका स्थानीयहरूमा त्रास फैलिएको छ ।
घटनाको जानकारी पाएसँगै स्थानीय प्रहरी, प्रशासन र स्थानीयहरूको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीले तत्काल राहत र उद्धार कार्य सुरु गर्दै घाइतेहरूलाई बसबाट बाहिर निकालेर उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरेको छ । हालसम्म चार जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।
यस भयानक सडक दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गहिरो दुःख व्यक्त गरेका छन् । उनले अधिकारीहरूलाई घाइतेहरूको उपचार र पीडित परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै, मुख्यमन्त्री योगीले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
















