Logo

१ पौष, काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रालय बाँडफाँडलाई लिएर सत्तारुढ जनमत पार्टीले कडा आपत्ति जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आफूले रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै सरकार छाड्ने संकेत दिनुभएको हो । सोमबार मात्रै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई जिम्मा दिइएपछि जनमत पार्टी रुष्ट बनेको छ ।

विगतमा सोही मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका नेता कुशवाहाले वर्तमान सरकारमा जनमतको उपस्थिति दयनीय बन्दै गएको उल्लेख गर्नुभएको छ । उहाँले यस आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत १०औं हजार रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी कार्यक्रमहरू ल्याइएको दाबी गर्दै भागबन्डाका नाममा सो मन्त्रालय अरूलाई सुम्पिनु भनेको ती सबै कार्यक्रमहरूलाई अलपत्र पार्नु सरह भएको तर्क गर्नुभएको छ । पार्टीको उद्देश्य बमोजिम सरकारमा काम गर्ने सुनिश्चितता नभए मधेश सरकारबाट तत्काल अलग हुनुपर्ने उहाँको जिकिर छ ।

सातदलीय गठबन्धनको समर्थनमा बनेको मधेश सरकारमा हाल जनमत पार्टीले महत्त्वपूर्ण अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेको छ, जहाँ संसदीय दलका नेता महेश प्रसाद यादव मन्त्री हुनुहुन्छ। यद्यपि, उद्योग मन्त्रालय नपाउँदा आफ्नो मुख्य चुनावी एजेन्डा ‘रोजगारी’ कार्यान्वयनमा बाधा पुग्ने भन्दै जनमतले नयाँ संकट सिर्जना गरेको छ।


सम्बन्धित समाचार