Logo

१ पौष, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मा सरकारको राजस्व संकलनको अवस्था कमजोर देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ। सरकारले यो अवधिका लागि ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको भए तापनि लक्ष्यको करिब ७८.७४ प्रतिशत मात्रै प्रगति हासिल हुन सकेको हो । मंसिर महिनाको मात्र तथ्यांक हेर्दा पनि अवस्था उत्साहजनक छैन ।

यस महिनामा ९५ अर्ब २० करोड संकलन गर्ने लक्ष्य राखिएकोमा जम्मा ८० अर्ब २७ करोड रुपैयाँ मात्र सरकारी कोषमा जम्मा भएको छ, जुन लक्ष्यको करिब ८४ प्रतिशत हो । पूरै आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने महत्त्वाकांक्षी लक्ष्य लिएको सरकारले पछिल्लो पाँच महिनाको प्रवृत्ति हेर्दा आगामी दिनमा थप दबाब महसुस गर्ने देखिन्छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा झिनो वृद्धि मात्र देखिएको छ । अघिल्लो वर्ष साउन–मंसिरको अवधिमा ४ खर्ब ५ अर्ब ७७ करोड राजस्व संकलन भएको थियो, जुन यस वर्षको तुलनामा मात्र ४ अर्बले कम हो । गत वर्ष पाँच महिनाको लक्ष्यमा ८१ दशमलव ९ प्रतिशत प्रगति हासिल भएकोमा यस वर्ष त्यो दर घटेर ७८ दशमलव ७ प्रतिशतमा खुम्चिनुले आर्थिक गतिविधिमा सुस्तता वा राजस्व प्रशासनको प्रभावकारितामा चुनौती रहेको संकेत गर्दछ।


सम्बन्धित समाचार