Logo

१ पौष, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानको संघारमा नाटकीय मोड देखिएको छ ।

प्यानलगत प्रतिस्पर्धा तीव्र भइरहेका बेला अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको टिमले सार्वजनिक गरेको अन्तिम सूचीमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई समावेश गरिएको छ । यसअघि उपाध्यक्ष पदमा ईश्वर पोखरेल समूहको समर्थनमा उम्मेदवारी दिएको चर्चा गरिएका पन्तलाई अन्ततः ओली पक्षले आफ्नो आधिकारिक प्यानलमा समेटेर चुनावी मैदानमा उतारेको छ । यस कदमलाई महाधिवेशन स्थलमा शक्ति सन्तुलन मिलाउने ओलीको रणनीतिक प्रयासका रूपमा हेरिएको छ ।

त्यसैगरी, स्वर्गीय नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई पनि ओली पक्षले खुला केन्द्रीय सदस्यको प्यानलमा राखेको छ । सोमबार मात्रै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुहाङलाई प्यानलमा समावेश गरिएपछि उनी अब ओली टिमको आधिकारिक उम्मेदवार बनेका छन् । मतदान सुरु हुनुअघि प्रतिनिधिहरूलाई पठाइएको अन्तिम सूचीमा यी दुई नाम समावेश भएपछि महाधिवेशनको समीकरणमा नयाँ तरङ्ग पैदा भएको छ । नयाँ नेतृत्वका लागि मंगलबार नै मतदान हुने कार्यतालिका रहेको छ ।


सम्बन्धित समाचार