Logo

१ पौष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच मंगलबार बूढानीलकण्ठमा भेटवार्ता भएको छ ।

पार्टीको आन्तरिक विवाद र आसन्न महाधिवेशनका तयारीका सन्दर्भमा देखिएका जटिलता सुल्झाउन नेता कोइराला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथै लिएर सभापति देउवा निवास पुग्नुभएको हो । भेटवार्ताको मुख्य एजेन्डा क्रियाशील सदस्यता वितरणमा देखिएको प्राविधिक त्रुटि र अनुशासन समितिको कारबाही फुकुवामा केन्द्रित रहेको थियो ।

भेटका क्रममा नेता कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले जिल्ला-जिल्लामा क्रमसंख्या उल्लेख नभएको फारम पठाएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । विना नम्बरका फारमले देशभर पार्टीभित्र जटिल समस्या र आशंका पैदा गरेको उल्लेख गर्दै उहाँले ती विवादित फारम तत्काल फिर्ता गरी नयाँ पठाउन निर्देशन दिन सभापति देउवालाई आग्रह गर्नुभयो । यस्ता त्रुटिपूर्ण फारमका आधारमा महाधिवेशनको कुनै पनि प्रक्रिया अघि बढ्न नसक्ने जिकिर कोइरालाले गर्नुभएको छ ।

यसैगरी, नेता कोइरालाले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेका कारबाही सिफारिसहरू फुकुवा गर्नुपर्नेमा जोड दिनुभएको छ । विशेषगरी २०७९ सालको निर्वाचनका बेला गठबन्धनको विषयलाई लिएर असहमति जनाएकै आधारमा नेता–कार्यकर्तामाथि कारबाही गरिनु न्यायोचित नहुने कोइरालाको तर्क थियो । आगामी आम निर्वाचन र पार्टीको आन्तरिक एकताका लागि पनि सबैको कारबाही फुकुवा गरी चुनावी अभियानमा खटिने वातावरण बनाउन उहाँले सभापतिको ध्यानाकर्षण गराउनुभएको छ ।


सम्बन्धित समाचार