१ पौष,पर्सा। तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं तथा बहुदर्माई नगरपालिका वडा नं.५ र जनमुखी युवा क्लब, भौराटार पर्साको संयुक्त आयोजनामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
शिविर अवधिभर ५ हजार ५ सय जनाको आँखा जाँच गरिएकोमा ४ सय ६३ जनाको सफल शल्यक्रिया गरिएको आयोजकले जानकारी दिएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट आँखासम्बन्धी समस्या भएका सयौँ सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठान बाट खटिएको विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। चिकित्सक टोलीमा डाक्टर सुशान्त, डाक्टर एलिना गौचन, डाक्टर हेमचन्द्र झा र डाक्टर दिपती पौडेल रहेका थिए। उनीहरूको प्रत्यक्ष संलग्नतामा आँखाको परीक्षण, परामर्श तथा जटिल शल्यक्रिया सेवा प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन तथा विदाई समारोहमा बहुदर्माई नगरपालिका वडा नं.५ का वडा अध्यक्ष सुनिल महतो कोइरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। समारोहमा जनमुखी युवा क्लबका अध्यक्ष शिवशंकर साह, सचिव रामप्रवेश मण्डल, स्वागत मन्तव्य दिने रामबाबु साह, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रौनाका प्रमुख, तिलगंगा आँखा प्रतिष्ठानका प्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको योगदानको कदर गर्दै कार्यक्रम सञ्चालक दुलारचन प्रसाद साहलाई प्रशंसा पत्र तथा सम्मान प्रदान गरिएको थियो। आयोजक संस्थाहरूले यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै यसले समुदायको स्वास्थ्य र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
















