Logo

१ पौष, काठमाडौं । लामो समयको अन्तरालपछि नेपालको पुँजी बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९.९९ को विन्दुमा पुगेर अडिएको छ । यसअघि गत मंसिर १२ गते मात्रै बजारमा दोहोरो अंकको वृद्धि देखिएको थियो, जसका कारण आजको यो सुधारलाई लगानीकर्ताहरूले राहतका रूपमा लिएका छन् । मंगलबार बजारमा कुल ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिद(बिक्री भएको छ ।

कारोबार भएका कुल २५९ कम्पनीमध्ये आज १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ६१ कम्पनीको मूल्य ओरालो लागेको छ। बाँकी ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । समूहगत सूचकहरूलाई हेर्दा आज व्यापार (ट्रेडिङ) क्षेत्रबाहेक अन्य सबै उपसमूहका सूचकहरूमा हरियाली छाएको छ। विशेषगरी विकास बैंक समूहमा १.५६ प्रतिशत, होटल तथा पर्यटनमा १.४९ प्रतिशत र अन्य समूहमा १.१५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ भने बाँकी समूहका सूचकहरू एक प्रतिशतभन्दा कमले बढेका छन् ।

मंगलबारको बजारमा तीनवटा कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् । स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, श्वेतगंगा हाइड्रोका लगानीकर्ताले भने ४.१६ प्रतिशतको गिरावटसँगै सबैभन्दा धेरै गुमाएका छन् । कारोबार रकमका आधारमा आज ङादी पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो भने लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


सम्बन्धित समाचार