१ पौष, काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत बन्द सत्र र मतदान प्रक्रियाका लागि काठमाडौँको भृकुटीमण्डप आजका लागि मात्रै उपलब्ध हुने भएको छ ।
एमालेले कार्यक्रम स्थलका रूपमा भृकुटीमण्डप आजसम्मका लागि मात्र भाडामा लिएकाले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू आजै रातभरिमा सम्पन्न गर्नुपर्ने दबाब सिर्जना भएको हो । भोलि देखि उक्त स्थानमा अन्य कार्यक्रमहरू पूर्वनिर्धारित रहेकाले एमालेले थप समय नपाउने निश्चित भएको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार मतदान प्रक्रिया सुरु हुन केही ढिलाइ भए पनि आजै रातभरिमा काम सक्नैपर्ने बाध्यता छ । भोलिदेखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको जानकारी दिँदै उहाँले निर्वाचन आयोगले पनि आजैको ‘डेडलाइन’ भित्र मतदान सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो । यो ठाउँ आजका लागि मात्रै एमालेको स्वामित्वमा रहेकाले प्राविधिक व्यवस्थापनमा निकै सावधानी अपनाइएको छ।
यसैबीच, मञ्च व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य विनोद श्रेष्ठले आजै रातभरिमा निर्वाचनका सबै प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ । मतदानका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्मको समय तोकिएकाले निर्धारित समयभित्रै प्रतिनिधिहरूले मत खसाल्ने र स्थल खाली गर्ने गरी तयारी तीव्र पारिएको छ । भोलिदेखि भृकुटीमण्डप अर्कै पक्षको हुने भएकाले एमालेले आफ्नो व्यवस्थापनलाई निकै चुस्त बनाएको छ ।















