Logo

१ पौष, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टी–१० नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सन बीरगञ्जले जनाएको छ।

प्रतियोगितामा प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयका ३३ वटा छात्रा टिम तथा ४ देखि ३४ वटा जुनियर छात्र टिम सहभागी हुनेछन्। प्रतियोगिता बीरगञ्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुनेछ। यसको उद्घाटन समारोह पुष २ गते बिहान ११ बजे हुने तय गरिएको छ भने प्रतियोगिताको समापन पुष १६ गते हुनेछ।

टी–१० नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगिताले सीमित समयमा युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता खेल भावना, निष्पक्षता र अनुशासनको पूर्ण पालना गर्दै सञ्चालन गरिने बताइएको छ।

प्रतियोगिताका पुरस्कारहरू यस प्रकार रहेका छन्:
विजेताले ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् भने उपविजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। तेस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफी दिइनेछ। प्लेट च्याम्पियनसिप विजेतालाई पनि ट्रफी प्रदान गरिनेछ। सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, फाइनल खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र, तेस्रो स्थानको खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र तथा प्लेट च्याम्पियनसिप फाइनलका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर तथा सर्वाधिक अनुशासित टिमलाई समेत ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव अमित आलोकले जानकारी दिए।

बीरगञ्जको खेलकुद विकासलाई विशेष प्राथमिकता दिँदै, विशेषगरी छात्रातर्फको क्रिकेट प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यका दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास प्याब्सन बीरगञ्जले व्यक्त गरेको छ।

उक्त विषयमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन बीरगञ्जका नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ सल्लाहकार अशोक सङौला, मार्टिन मोक्तान, आलोक चौरसिया तथा विजय बलको उपस्थिति रहेको थियो। प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण विद्यालय, अभिभावक, शिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूबाट आवश्यक सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार