२ पुस, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टी–१० नकआउट क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुनेछ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन वीरगञ्जले जनाएको छ। प्रतियोगितामा प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयका ३३ वटा छात्रा टिम र ४ देखि ३४ वटा जुनियर छात्र टिम सहभागी छन्।
प्रतियोगिताको उद्घाटन समारोह आज बिहान ११ बजे हुने आयोजकले जानकारी दिएको छ। टी–१० नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगिताको समापन पुस १६ गते हुनेछ। सीमित समयमा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिता खेल भावना, निष्पक्षता र अनुशासनको पूर्ण पालना गर्दै सञ्चालन गरिनेछ। प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। तेस्रो स्थान हासिल गर्ने टिम र प्लेट च्याम्पियनसिप विजेतालाई पनि ट्रफी प्रदान गरिनेछ। साथै सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिनेछ।
व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, फाइनल खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र, तेस्रो स्थानको खेल र प्लेट च्याम्पियनसिप फाइनलका उत्कृष्ट खेलाडीलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर तथा सर्वाधिक अनुशासित टिमलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले जानकारी दिए।
वीरगञ्जको खेलकुद विकासलाई विशेष प्राथमिकता दिँदै, विशेषगरी छात्रातर्फको क्रिकेट प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यका दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास प्याब्सन वीरगञ्जले व्यक्त गरेको छ।
प्रतियोगितासम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ सल्लाहकार अशोक सङौला, मार्टिन मोक्तान, आलोक चौरसिया तथा विजय बलको उपस्थिति रहेको थियो ।
















