२ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज बुधबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, काठमाडौंमा मतदान प्रक्रिया सुरु हुँदैछ । प्राविधिक त्रुटि र चिसो मौसमका कारण मंगलबार राति स्थगित गरिएको मतदान आवश्यक तयारी पूरा भएपछि आज बिहान पुनः सुरु गरिँदै छ ।
नेता शंकर पोखरेलका अनुसार प्राविधिक समस्या तथा चिसो मौसमका कारण राति मतदान रोकिएको थियो। उनका अनुसार मतदाता लाइनमा बसेका भए पनि आवश्यक तयारी पूरा नभएकाले मतदान स्थगित गर्नुपरेको हो।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार पद संख्या, उम्मेदवार संख्या र मतदाता संख्या पूर्वअनुमानभन्दा बढी भएकाले मतदान प्रक्रियामा समय बढी लाग्ने देखिएको छ। “यो केवल एक पदका लागि मात्र मतदान होइन, करिब ३०० पदका लागि मतदान हुँदैछ।” यसकारण समय बढी लाग्नेछ ।
११औँ राष्ट्रिय महाधिवेशनमा ७७ वटै जिल्ला कमिटी तथा विदेशस्थित संगठन र प्रवासी नेपाली मञ्चबाट समेत प्रतिनिधिहरू सहभागी भएका छन्। कुल २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्नेछन्।
निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले मतदान प्रक्रिया पूरा गर्न करिब ६ घण्टा लाग्ने जानकारी दिएका छन्। तर मतदान मेसिन आपूर्ति गर्ने रामलक्ष्मण इन्जिनियरिङका प्रमुख लक्ष्मण रिमालका अनुसार एक मतदाताले सरदर ३० मिनेटसम्म समय लिने भएकाले मतदान सम्पन्न हुन १० देखि १२ घण्टासम्म लाग्न सक्ने अनुमान गरिएको छ।
महाधिवेशनअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ सचिवसहित ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलसहित करिब ६ सय ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
पूर्वअनुमानभन्दा धेरै उम्मेदवार संख्या र उनीहरूको नाम तथा फोटो मेसिनमा क्लस्टर मिलाउनुपर्ने भएकाले मतदान सुरु हुन ढिलाइ भएको जनाइएको छ। मतदानका क्रममा मतदाताले निर्वाचन आयोगले प्रमाणित गरेका विद्युतीय भोटिङ मेसिनको टच स्क्रिनमार्फत उम्मेदवारको नाम र फोटोमा टच गरेर मत जाहेर गर्नुपर्ने व्यवस्था गरिएको छ।
मतदान सम्पन्न भएपछि सम्बन्धित उम्मेदवारको फोटोमा स्वस्तिक चिन्ह देखिनेछ, जसले मतदान सफल भएको संकेत गर्नेछ। मतदान अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म पदीय मर्यादाक्रमअनुसार क्रमशः गर्नुपर्ने व्यवस्था गरिएको छ।
मतदान सफल भएको संकेतका रूपमा मेसिनबाट ‘बिप’ आवाज वा अडियो सन्देश आउनेछ। मतदान स्थलमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। एक पटक बुथभित्र प्रवेश गरेपछि मतदाताले एउटै मेसिनमार्फत सबै पदका उम्मेदवारलाई मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
मतदान प्रक्रियामा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने आयोगले जनाएको छ। ८० वटा मेसिनबाट प्राप्त मत गणना र प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ।
















