Logo

२ पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र मानसिक तनावले आक्रान्त रहेको उल्लेख गर्दै नेपालले आफ्नो आध्यात्मिक तथा प्राकृतिक चिकित्सकीय क्षमतालाई विश्वमाझ प्रस्तुत गरी मानवहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेकी छन्।

विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “आजको विश्व रोग, तनाव, कलह र अशान्तिले ग्रसित छ। यस्तो अवस्थामा नेपालले आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सा क्षमतालाई विश्वसामु प्रदर्शन गर्दै मानव कल्याणका लागि उल्लेखनीय योगदान दिन सक्छ।”

उनले हिमालय पर्वतशृङ्खला, अग्ला पहाड, वनजङ्गल, नदीनाला, धार्मिक तथा सांस्कृतिक सम्पदा र विविध तीर्थस्थलका कारण नेपाल विश्वमै एक अद्वितीय आरोग्य भूमिको रूपमा परिचित रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार नेपाल प्राचीन कालदेखि नै योग, ध्यान, समाधिजस्ता आध्यात्मिक चेतनाका साथै आयुर्वेद, प्राकृतिक चिकित्सा र अन्य विकसित उपचार पद्धतिको उद्गमस्थल रहँदै आएको छ। यी सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न सके नेपाल विश्वव्यापी स्वास्थ्य र शान्तिको केन्द्र बन्न सक्ने उनको धारणा छ।


सम्बन्धित समाचार