२ पौष, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना निकट सहयोगी तथा पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ परेपछि कडा र सुधारात्मक कदम चालेका छन् ।
पुरानो बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई नियन्त्रणमा लिए लगत्तै मेयर साम्पाङले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने घोषणा गरेका हुन्। यो घटनाले धरानको स्थानीय राजनीतिमा तरंग पैदा गरेको छ, जहाँ साम्पाङले ूगलतलाई गलत र सहीलाई सहीू भन्ने आफ्नो अडानलाई पुनः दोहोर्याउँदै विधिको शासनप्रति प्रतिबद्धता जनाएका छन् ।
उपाध्यक्ष लामालाई पक्राउ गरिएपछि एक भिडियो सन्देश जारी गर्दै साम्पाङले राज्यको अनुसन्धान प्रक्रियालाई पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट पारेका छन्। उनले अनुसन्धान नटुंगिएसम्म र अदालतबाट निर्दोष साबित नभएसम्मका लागि लामालाई पदमुक्त गरिएको जानकारी दिएका हुन्। साम्पाङका अनुसार, यदि लामा दोषी ठहरिएमा उनले कानुन बमोजिमको सजाय भोग्नुपर्नेछ र पार्टीले उनलाई सधैँका लागि निष्कासन गर्नेछ । यद्यपि, निर्दोष सावित भएमा उनलाई पुनः सम्मानका साथ स्वागत गरिने साम्पाङको भनाइ छ, जसले नैतिकता र न्यायको सन्तुलन कायम गर्न खोजेको देखिन्छ ।
यस घटनाको पछाडि साम्पाङले केही राजनीतिक गन्ध समेत महसुस गरेका छन्। लामा पूर्व माओवादी कार्यकर्ता रहेको र विगतमा जेल जीवन समेत बिताइसकेको सन्दर्भ कोट्याउँदै मेयर साम्पाङले दशकौँ पुरानो मुद्दा अहिले आएर ब्युँताइनुमा आशंका व्यक्त गरेका छन्। विशेष गरी श्रम संस्कृति पार्टीको बढ्दो लोकप्रियताबाट अत्तालिएका शक्तिहरूले राजनीतिक प्रतिशोध साध्न र पार्टीको छवि धमिल्याउन यस्तो षड्यन्त्र गरेको हुनसक्ने उनको तर्क छ। तर, जुनसुकै अवरोध आए पनि आफू र आफ्नो पार्टी देश तथा जनताको सेवामा विचलित नभई निरन्तर अगाडि बढ्ने दृढता उनले व्यक्त गरेका छन् ।















