Logo

२ पौष, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो नेतृत्वको सरकारलाई वैधानिकता दिलाउन आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

गत मंसिर १९ गते ६ दलका ७७ सांसदको भारी समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र संसदको विश्वास जित्नुपर्ने बाध्यतालाई सम्बोधन गर्न पुस ४ गते शुक्रबार दिउँसो ४ बजेको समय तय गरेका हुन्  ।  यसका लागि उनले बुधबार नै प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक व्यवस्था मिलाउन औपचारिक आग्रह गरिसकेका छन् । विश्वासको मत प्राप्त गरेसँगै प्रदेशमा राजनीतिक स्थिरताको जग बलियो हुने र सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन ढिलाइ भएकै कारण मधेसको मन्त्रिपरिषद्ले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। हाल उनको मन्त्रिमण्डलमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी भए पनि कार्यविभाजन र नयाँ मन्त्रीहरूको नियुक्ति प्रक्रिया रोकिएको छ ।

अहिलेको मन्त्रिपरिषद्मा जङ्गीलाल यादव, गणेश पटेल र जवाहर कुशवाहले जिम्मेवारी सम्हालिसकेका छन् भने लोसपाकी रानीकुमारी तिवारी मन्त्रालयको जिम्मेवारीको पर्खाइमा छिन् । पुस ४ गतेको शक्ति परीक्षणमा सफल भएपछि मुख्यमन्त्री यादवलाई मन्त्रिपरिषद् विस्तार गरी प्रदेशका अधुरा कामहरूलाई गति दिने बाटो खुल्नेछ ।


सम्बन्धित समाचार
भर्खरै