३ मंसिर, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन २ हजार २२७ जना महाधिवेशन प्रतिनिधिले टोकन लिएका छन् ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार हाल ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ भने अझै १० जना प्रतिनिधिको मतदान बाँकी रहेको छ ।
कुल २ हजार २६३ जना प्रतिनिधि मतदानका लागि छनोट गरिएकामा ३६ जना प्रतिनिधिले टोकन नै नलिएको निर्वाचन आयोगले जनाएको छ। टोकन लिएका प्रतिनिधिको संख्या २ हजार २२७ रहेकोले सोही संख्यामा मत खस्ने सम्भावना रहेको उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
विद्युतीय मतदान प्रणालीमार्फत भइरहेको निर्वाचन सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।















