३ पौष, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाले पार्टीभित्रको शक्ति सन्तुलनको प्रारम्भिक चित्र स्पष्ट पारेको छ ।
चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई निकै फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ । ओलीले १५६ मत प्राप्त गर्दा पोखरेलको पोल्टामा ६७ मत मात्रै परेको देखिन्छ, जसले पार्टी नेतृत्वमा ओलीको पकड पुनः मजबुत हुने संकेत गरेको छ ।
उपाध्यक्ष पदको प्रतिस्पर्धामा भने रोचक दृश्य देखिएको छ । विष्णु प्रसाद पौडेल १७३ मतका साथ अग्रस्थानमा रहँदा उनलाई पृथ्वीसुब्बा गुरुङले १७१ मतका साथ कडा टक्कर दिइरहनुभएको छ । त्यसैगरी रामबहादुर थापा ुबादलु, गोकर्ण विष्ट र रघुजी पन्त क्रमशः उच्च मतका साथ अगाडि देखिनुभएको छ भने भिम आचार्य र अरुण नेपाल जस्ता नेताहरू भने तुलनात्मक रूपमा निकै कम मतका साथ पुछारमा रहनुभएको छ ।
सबैभन्दा बढी चासोको रूपमा हेरिएको महासचिव पदमा भने तीव्र प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल ११५ मतका साथ झिनो अग्रतामा रहँदा सुरेन्द्र पाण्डे १०८ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ । यी दुई नेताबीचको मतान्तर निकै कम भएकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने कुराले एमालेको आगामी साङ्गठनिक स्वरूप निर्धारण गर्ने देखिन्छ । उपमहासचिवमा लेखराज भट्ट र योगेश भट्टराईले बलियो उपस्थिति जनाइरहँदा सचिव पदमा भने पद्मा अर्याल र महेश बस्नेतबीच अग्रताका लागि होडबाजी चलेको छ ।















