२ पौष, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतगणनाले उत्साहजनक मोड लिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कुल ४० वटा विद्युतीय मेसिनको ११३९ मत गणना भइसक्दा अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको छ। ओलीले ८४३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत मात्रै पाउनुभएको छ, जसले पार्टीको सर्वोच्च पदमा ओलीको पुनरागमनलाई लगभग निश्चित जस्तै देखाएको छ।
उपाध्यक्ष र महासचिव पदमा भने तीव्र प्रतिस्पर्धा र रोचक समीकरणहरू देखिएका छन्। उपाध्यक्षतर्फ पृथ्वीसुब्बा गुरुङ ९०० मतका साथ सबैभन्दा अगाडि रहनुभएको छ भने उहाँलाई विष्णु प्रसाद पौडेलले ८४६ मतका साथ पछ्याइरहनुभएको छ। त्यसैगरी, रामबहादुर थापा ुबादलु ले ७७४ र गोकर्ण विष्टले ७१३ मत प्राप्त गर्दै आफ्नो स्थान सुरक्षित गर्ने दाउमा हुनुहुन्छ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीचको भिडन्तले धेरैको ध्यान तानेको छ। पोखरेल ६१३ मतका साथ केही अगाडि रहँदा पाण्डे ५२६ मतका साथ कडा टक्कर दिइरहनुभएको छ।
उपमहासचिव र सचिव पदको नतिजाले पनि पार्टीभित्रको बदलिँदो मनोविज्ञानलाई झल्काएको छ। उपमहासचिवमा लेखराज भट्ट ७३४ मतसहित अग्रस्थानमा रहँदा योगेश भट्टराई ७०९ मतका साथ दोस्रो स्थानमा उक्लिनुभएको छ। यद्यपि, अध्यक्ष ओलीका मुख्य राजनीतिक सल्लाहकार मानिने विष्णु रिमाल ५४० मतका साथ चौथो स्थानमा सीमित हुनुभएको छ। सचिव पदमा भने युवा नेता महेश बस्नेत ७८३ मतका साथ निकै अगाडि देखिनुभएको छ भने खगराज अधिकारी र हिक्मत कार्की पनि बलियो मतका साथ अगाडि हुनुहुन्छ। यो प्रारम्भिक नतिजाले एमालेको आगामी सचिवालयमा नयाँ र पुराना अनुहारको रोचक सन्तुलन हुने संकेत गरेको छ।















