Logo

३ पौष, काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलमा बिहीबारको बहस सम्पन्न भएको छ ।

न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा दुवै पक्षका कानुन व्यवसायीहरूले आ(आफ्नो तर्क प्रस्तुत गरेपछि सुनुवाइ प्रक्रिया सकिएको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अब इजलासले मिसिलको गम्भीर अध्ययन र कानुनी परामर्श गरेपछि मात्रै अन्तिम फैसला सुनाउनेछ। लामो समयदेखि स्थगित हुँदै आएको र ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै आएको यो मुद्दाले बिहीबार ठोस प्रगति हासिल गरेसँगै सबैको ध्यान अदालतको निर्णयतर्फ मोडिएको छ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीले लामिछाने र जोशीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउनुभएको थियो। आफूले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम बुझाउँदा समेत जिल्ला अदालतले रिहा गर्न नमानेको भन्दै लामिछाने पक्षले उच्च अदालतबाट न्यायको अपेक्षा गरेको छ ।
आजको बहस सकिएसँगै अब अदालतले उहाँहरूलाई थुनामै राखेर मुद्दा अगाडि बढाउने वा साधारण तारिखमा रिहा गर्ने भन्ने विषयको छिनोफानो छिट्टै गर्ने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै