Logo

३ पौष, काठमाडौं । गत असोज १८ गतेको अविरल वर्षा र त्यसपछिको विध्वंशकारी बाढी-पहिरोका कारण ठूलो धनजनको क्षति व्यहोरेका बीमितहरूलाई बीमा कम्पनीहरूले राहत स्वरूप दाबी भुक्तानी दिन थालेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७९० वटा प्रारम्भिक दाबीमध्ये हालसम्म ९६ वटा दाबीको फर्छ्यौट भइसकेको छ । बाढी–पहिरोपछि करिब ४ अर्ब १८ करोड २६ लाख रुपैयाँको प्रारम्भिक दाबी परेकोमा हालसम्म ११ करोड १५ लाख रुपैयाँ बीमितहरूको हातमा पुगेको छ । यसरी प्राप्त तथ्याङ्कले ठूलो परिमाणमा दाबी परे पनि भुक्तानीको प्रक्रिया अझै प्रारम्भिक चरणमै रहेको देखाउँछ ।

प्राधिकरणका अनुसार कुल १३ वटा निर्जीवन र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा बढी सम्पत्ति बीमातर्फ दाबी परेको छ । सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँको दाबी परेकोमा ३३ वटा दाबीको ९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत ५१ करोड ५७ लाखको दाबीमध्ये जम्मा ९ लाख रुपैयाँ मात्रै बीमितले पाएका छन् । कृषि तथा बाली बीमामा २१० वटा दाबी परे पनि भुक्तानी भने १९ लाख रुपैयाँमा सीमित देखिएको छ । मोटर बीमातर्फ निजी सवारीको दाबी भुक्तानीमा केही प्रगति भए तापनि सार्वजनिक सवारी र लघुबीमातर्फको भुक्तानी प्रक्रिया भने अझै सुरु हुन सकेको छैन ।

यसरी बाढी र पहिरोका कारण अर्बौंको क्षति भए पनि दाबी भुक्तानीको सुस्त गतिले बीमितहरूमा केही निराशा थपेको छ। सामुद्रिक बीमातर्फ ४ वटा दाबीमध्ये २ वटाको भुक्तानी भइसकेको छ भने मोटर बीमा (निजी) तर्फ १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ बीमितले बुझिसकेका छन्। प्राधिकरणले कम्पनीहरूबाट प्राप्त अद्यावधिक विवरणका आधारमा दाबी प्रक्रियालाई तीव्रता दिन निर्देशन दिइरहेको छ ।

यद्यपि, मोटर बीमा (सार्वजनिक) र लघुबीमा जस्ता संवेदनशील क्षेत्रमा हालसम्म एक रुपैयाँ पनि भुक्तानी नहुनुले यी क्षेत्रका बीमितहरूलाई थप मर्का परेको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै