३ पौष, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा भएको विवादले उग्र रूप लिँदा असम्बन्धित एक निर्दोष पैदलयात्रीले ज्यान गुमाउनुपरेको छ ।
मंगलबार राति टोखा नगरपालिका–९ मा रहेको मिरमिरे दोहोरी साँझमा दुई समूहबीच मदिराको उन्मादमा झडप भएपछि सञ्चालकले उनीहरूलाई बाहिर निकालेका थिए । तर, रिसले चुर भएको उक्त समूहले सडकमा पुगेपछि त्यही बाटो हिँड्दै गरेका २० वर्षीय बबिन गुरुङमाथि सांघातिक आक्रमण गर्यो । गोरखा घर भई हाल गोंगबुमा बस्दै आएका गुरुङको दोहोरी साँझको झगडासँग कुनै साइनो नभए पनि उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका बबिनलाई तत्काल त्रिवि शिक्षण अस्पताल र पछि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइए पनि उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धादिङका हरिशरण पन्त र श्रीकृष्ण पन्तको समूह तथा डडेल्धुराका वीरेन्द्र साउद सहितको अर्को समूहबीच दोहोरीभित्रै विवाद सुरु भएको थियो । झगडा गर्ने क्रममा हरिशरण पन्तले सडकमा हिँड्दै गरेका बबिनलाई अन्धाधुन्ध हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यस जघन्य अपराधको अनुसन्धानका लागि प्रहरीले मुख्य अभियुक्त हरिशरण पन्तसहित झडपमा संलग्न ६ जना र दोहोरी साँझका सञ्चालक शिव सौगात सुवेदीलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभएको छ । मनोरञ्जन स्थलमा हुने सुरक्षा कमजोरी र व्यक्तिको आवेगले कसरी निर्दोषको ज्यान जान सक्छ भन्ने यो घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ ।















