Logo

४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २७ अन्तर्गत उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा महिला तथा बालबालिकालाई लक्षित गरी स्त्रीरोग र बालरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

वडा नं. २७ का वडाध्यक्ष हृदयप्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको शिविर बिहान १० बजेदेखि सञ्चालन भएको थियो। शिविरमा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा सहभागीहरूको रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसनजस्ता प्रारम्भिक स्वास्थ्य परीक्षणपछि विशेषज्ञ चिकित्सकमार्फत आवश्यक परामर्श प्रदान गरिएको थियो। सेवाको प्रभावकारी व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण र चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

शिविरमा वडा नं. २७ का वडाध्यक्ष हृदयप्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज कृष्णचन्द्र प्रसाद तथा नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेशचन्द्र दासको उपस्थिति रहेको थियो।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

कार्यक्रमका क्रममा वक्ताहरूले समुदायस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउँदा प्रारम्भिक रोग पहिचान, जनचेतना अभिवृद्धि तथा जनस्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। स्थानीयवासीहरूले महिला तथा बालस्वास्थ्यलाई लक्षित यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्।

आयोजक पक्षका अनुसार निःशुल्क स्वास्थ्य शिविरले आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै महिला तथा बालस्वास्थ्य प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ।


सम्बन्धित समाचार