४ पौष, काठमाडौं । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनका एक प्रमुख अभियन्ता शरीफ उस्मान हादीको उपचारका क्रममा सिंगापुरमा निधन भएपछि छिमेकी मुलुक पुनः हिंसात्मक प्रदर्शनको चपेटामा परेको छ ।
गत शुक्रबार ढाकास्थित एक मस्जिदबाट निस्कने क्रममा टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई आकस्मिक रूपमा सिंगापुर पुर्याइएको भए पनि चिकित्सकहरूको अथक प्रयासका बाबजुद बिहीबार उनको प्राण पखेरु उड्यो। पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता बहिर्गमनमा निर्णायक भूमिका खेलेका र आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका हादीको मृत्युको खबरले समर्थकहरूलाई आक्रोशित बनाएको छ, जसका कारण ढाकाका सडकहरूमा बिहीबार रातभर तनावपूर्ण स्थिति सिर्जना भयो ।
हादीको निधनको खबर डढेलोझैँ फैलिएसँगै आन्दोलित भीडले राजधानीका धानमन्डी र शाहबाग लगायतका क्षेत्रमा भीषण तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीको तारोमा यस पटक बंगलादेशका दुई ठूला सञ्चार गृह ‘प्रोथोम आलो’ र द डेली स्टारका कार्यालयहरू समेत परेका छन् । त्यसैगरी, आक्रोशित प्रदर्शनकारीहरूले संस्थापक नेता शेख मुजीबुर रहमानको ऐतिहासिक निवास र पूर्वशिक्षामन्त्रीको घरमा समेत क्षति पुर्याएका छन् ।
हिंसाको यो लहर ढाका बाहिरका चटगाँव र राजशाही जस्ता सहरहरूमा पनि देखिएको छ, जहाँ भारतीय सहायक उच्चायोगको कार्यालयमाथि समेत ढुङ्गामुढा भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
देशभर भड्किएको हिंसा र अराजकतालाई साम्य पार्न अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई संयमित रहन अपिल गरेका छन् । उनले कुनै पनि अफवाहमा नलाग्न आग्रह गर्दै हादीको हत्यामा संलग्नहरूलाई कडा कानुनी कारबाही गर्ने र पीडित परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन् ।
सरकारले हादीको सम्मानमा शनिबार एक दिने राजकीय शोकको घोषणा गरेको छ । यसैबीच, सिंगापुरस्थित बंगलादेश उच्चायोगले हादीको पार्थिव शरीर शुक्रबार स्वदेश पठाउने तयारी गरिरहेको छ भने बंगलादेशका विभिन्न राजनीतिक दलहरूले यो घटनाले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर चुनौती थपेको भन्दै दुःख व्यक्त गरेका छन् ।















