Logo

४ पौष, काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयले संगठनभित्रको आन्तरिक शुद्धीकरण र जनगुनासो सम्बोधन गर्ने उद्देश्यका साथ प्रदेशका आठवटै जिल्लामा कार्यरत ३१ जना ‘घुमुवा’ प्रहरीलाई एकैसाथ हटाएको छ ।

सादा पोसाकमा खटिने यी प्रहरीहरूले आफ्नो जिम्मेवारीको दुरुपयोग गर्दै सर्वसाधारणलाई धाकधम्की दिने र अवैध असुलीमा संलग्न हुने गरेको व्यापक गुनासो आएपछि प्रदेश प्रहरी नेतृत्वले यो कडा कदम चालेको हो । तराईका जिल्लाहरूमा ‘घुमुवा’ का नाममा हुने बेथितिप्रति नागरिकको असन्तुष्टि बढ्दै गएपछि प्रहरीले आफ्नो छवि सुधार्न उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरी सम्बन्धित दरबन्दीमा फिर्ता पठाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी संगठनलाई थप पारदर्शी, व्यावसायिक र उत्तरदायी बनाउने योजनाअन्तर्गत यो निर्णय लिइएको हो। हटाइएका घुमुवाहरूका गतिविधि र उनीहरूमाथि लागेका आरोपहरूका सम्बन्धमा प्रहरीले आन्तरिक रूपमा सुक्ष्म अनुसन्धानसमेत सुरु गरेको छ। डीआईजी थपलियाले संगठनको मर्यादाविपरीत काम गर्ने जोसुकैलाई पनि छुट नदिइने स्पष्ट पार्दै आगामी दिनमा प्रहरीको कामकारबाहीलाई थप जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

लामो समयदेखि मधेशका जिल्लाहरूमा सादा पोसाकका प्रहरीहरूको कार्यशैलीलाई लिएर प्रश्न उठ्दै आएको थियो । प्रहरी नेतृत्वको यो पछिल्लो सक्रियताले संगठनभित्र लुकेर रहेका गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने र आम नागरिकमा सुरक्षाको नयाँ अनुभूति दिलाउने अपेक्षा गरिएको छ । जिम्मेवारीबाट हटाइएका प्रहरीहरूको भूमिकाबारे छानबिन भइरहेकाले दोषी पाइएमा उनीहरूमाथि विभागीय कारबाही समेत हुने संकेत प्रहरी स्रोतले दिएको छ ।


सम्बन्धित समाचार