Logo

४ पौष, काठमाडौं ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रिहा गर्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्राविधिक अवरोधका कारण अझै कारागार मुक्त हुन सकेका छैनन् ।

बिहीबारको अदालती आदेशपछि धरौटी र जमानतको कागजी प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जानु पर्ने भए पनि उडानमा भएको ढिलाइले लामिछाने काठमाडौंमै रोकिएका हुन् । बुद्ध एयरको पहिलो उडानबाटै भैरहवा प्रस्थान गर्न शुक्रबार बिहान ८ बजेअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पूर्वगृहमन्त्री लामिछाने दिउँसो १ बजेसम्म पनि उड्न नपाएको उनका प्रेस सल्लाहकारले पुष्टि गरेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालतले बिगो बराबरको बैंक जमानत लिएर थुनामुक्त गर्न आदेश दिएको थियो। उनले फौजदारी कार्यविधि संहिताको प्रावधान अनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेस गरी मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । यसअघि जिल्ला अदालतले गरेको धरौटी आदेश र पछि उच्च अदालतले नै दिएको थुनाको आदेशका बीच लामो कानुनी लडाइँपछि अदालतले बचतकर्ताको रकमको सुनिश्चिततालाई प्राथमिकता दिँदै यो पछिल्लो आदेश जारी गरेको हो ।

अदालतले लामिछानेलाई रिहा गर्दा पाँचवटा कडा सर्तहरू अघि सारेको छ, जसमा २ करोड ७४ लाखभन्दा बढीको बैंक जमानत सुरक्षित गर्नेदेखि विदेश जाँदा अदालतको पूर्वअनुमति लिनुपर्ने सम्मका बुँदाहरू रहेका छन् ।  सुप्रिम सहकारीको ५५ करोडभन्दा बढी रकम अपचलन भएको भनिएको यस मुद्दामा लामिछाने सहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। शुक्रबार उडान सुचारु भएपछि रुपन्देही पुगेर अदालतको प्रक्रिया पूरा गरेलगत्तै लामिछाने थुनामुक्त हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार