४ पौष, काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई आर्थिक अवस्था र शारीरिक क्षतिको गम्भीरता हेरी मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
जेनजी प्रदर्शनका घाइतेलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ु कार्यान्वयनमा आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राहत वितरणको प्रक्रियालाई तीव्रता दिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको अपाङ्गता र स्वास्थ्य अवस्थाको वैज्ञानिक मुल्याङ्कन गरी सोही आधारमा मासिक भत्ता तय गरिनेछ, जसले पीडित परिवारको जीविकोपार्जनमा राहत पुग्ने अपेक्षा गरिएको छ ।
घाइतेहरूको वर्गीकरणका लागि स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले उनीहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चारवटा श्रेणीमा विभाजन गरेको छ । कार्यविधिमा उल्लेख भएअनुसार मध्यम श्रेणीका घाइतेले मासिक ४ हजार, गम्भीरले ९ हजार र अति गम्भीर घाइतेले मासिक १८ हजार रुपैयाँ जीवन निर्वाह भत्ता प्राप्त गर्नेछन् । सामान्य घाइतेहरूका हकमा भने नगद राहतको व्यवस्था नगरिएको भए पनि भविष्यमा महँगीको अवस्थालाई हेरेर यो भत्ता रकम पुनरावलोकन गर्न सकिने प्रावधान राखिएको छ ।
राहत वितरणका लागि काठमाडौं, कास्की र चितवन लगायतका जिल्लाहरूमा घाइतेहरूको पहिचान र प्रमाणीकरण कार्य धमाधम भइरहेको छ। हालसम्म १८३ जनाको वर्गीकरण सम्पन्न भइसकेकोमा १८ जना अति गम्भीर र ५५ जना गम्भीर घाइतेको सूचीमा परेका छन्। देशभरका विभिन्न ७४ स्वास्थ्य संस्थाहरूबाट प्राप्त तथ्याङ्कअनुसार उक्त आन्दोलनमा कुल २ हजार ५२२ जना घाइते भएका थिए ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस र स्वास्थ्य मन्त्रालयको अन्तिम प्रमाणीकरणपछि मात्रै घाइतेहरूले तोकिएको भत्ता पाउने व्यवस्था मिलाइएको छ ।















