Logo

४ पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत शैक्षिक सत्रमा विभिन्न तह उत्तीर्ण गरेका ८९ हजार १९९ विद्यार्थीहरू दीक्षित हुने योग्यता पुगेको जानकारी दिएको हो। रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिजालका अनुसार यस वर्षको समारोहमा सहभागी हुन १६ हजार ३८० विद्यार्थीले औपचारिक आवेदन दिएका छन्, जसमा स्नातकदेखि विद्यावारिधि (पीएचडी) तहसम्मका विद्यार्थीहरू समेटिएका छन् । विद्यार्थी र तिनका अभिभावक गरी करिब ४२ हजार जनाको उपस्थिति रहने यो समारोह त्रिविको इतिहासमै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ ।

यस पटकको दीक्षान्त समारोहको मुख्य आकर्षणका रूपमा जापानका नोबेल पुरस्कार विजेता भौतिकशास्त्री प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्रिविको दीक्षान्तमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लाग्नुले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा र पहुँचलाई थप उजागर गर्ने विश्वास विश्वविद्यालयले लिएको छ । समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई करिब २५ वटा विभिन्न पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका समेत सार्वजनिक गरिएको छ ।

समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ भने सह–कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन विशेष अतिथिका रूपमा उपस्थित हुनुहुनेछ । उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस कार्यक्रमलाई भव्य बनाउन ५२ जना सिनेट सदस्यहरू औपचारिक पोसाकमा सहभागी हुने तयारी छ।

२०८१ असारदेखि २०८२ जेठसम्मको शैक्षिक सत्रमा उत्तीर्ण भएका विद्यार्थीहरूको यो उत्सवलाई त्रिविले आफ्नो शैक्षिक उत्कृष्टताको विशेष अवसरका रूपमा लिएको छ।


सम्बन्धित समाचार