Logo

४ पौष, काठमाडौं । कञ्चनपुरस्थित जिल्ला कारागार कार्यालयमा शुक्रबार दुई समूहका कैदीबन्दीबीच भीषण विवाद भएपछि कारागार परिसर तनावग्रस्त बनेको छ ।

कारागारभित्र रहेका कैदीबन्दीहरूका दुई पक्षबीच कुनै आन्तरिक विषयलाई लिएर झडपको स्थिति सिर्जना भएपछि सुरक्षा संवेदनशीलता बढेको हो । कारागारभित्र अनियन्त्रित रूपमा तनाव बढ्दै गएको सूचना प्राप्त हुनासाथ सुरक्षा व्यवस्थालाई मजबुत बनाउन ठूलो संख्यामा थप प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीका अनुसार कैदीबन्दीहरूबीच के(कति कारणले विवाद उत्पन्न भएको हो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन । तनावलाई थप बढ्न नदिन र स्थिति नियन्त्रणमा लिन प्रहरीले विशेष सतर्कता अपनाइरहेको छ । कारागारको आन्तरिक व्यवस्थापन र सुरक्षा घेरालाई थप कडा पारिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले कारागार बाहिर र भित्र दुवै क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। कारागार प्रशासनले विवादमा संलग्न पक्षहरूसँग समन्वय गरी स्थिति शान्त पार्ने प्रयास गरिरहेको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारहरूमा बेलाबेला यस्ता विवादहरू हुने गरेकाले यस घटनालाई प्रशासनले गम्भीरतापूर्वक लिएको छ । थप अप्रिय घटना हुन नदिन कारागारको मुख्य प्रवेशद्वार र आसपासका क्षेत्रमा समेत सुरक्षा निगरानी बढाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै