५ पौष, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै सांसदले मतदान गरेपछि उनले सर्वसम्मत समर्थन हासिल गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेका सात दलका साथै विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समेत समर्थन जनाएपछि मुख्यमन्त्री यादवले १०० प्रतिशत विश्वासको मत पाएका हुन् । बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले सबैले उनको पक्षमा मतदान गरेका थिए ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक न्यूनतम ५४ मत रहेकोमा मुख्यमन्त्री यादवले त्यसभन्दा धेरै मतसहित स्पष्ट बहुमत हासिल गरेका हुन् । मतदान सम्पन्न भएपछि उपसभामुख बबिता राउतले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको औपचारिक घोषणा गरिन् ।
मधेस प्रदेशमा मुख्यमन्त्रीले संसद् बैठकमा उपस्थित सबै सांसदको समर्थन प्राप्त गरेको यो दोस्रो घटना हो । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले पनि बैठकमा उपस्थित १०२ जना सांसदबाट सर्वसम्मत विश्वासको मत पाएका थिए ।
मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत प्राप्त गरेसँगै प्रदेश सरकारलाई आगामी दिनमा नीति तथा कार्यक्रम कार्यान्वयन र प्रदेश विकासका योजनाहरू अघि बढाउन थप राजनीतिक स्थायित्व र सहजता मिल्ने अपेक्षा गरिएको छ ।















