५ पौष, जनकपुर । मधेश प्रदेश सभामा सभामुख चयनका लागि आज शनिबारदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार सभामुख पदका लागि उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।
सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्धारित समयभित्र प्रस्तावक र समर्थकसहितको सूचना दर्ता गराउनुपर्नेछ। उम्मेदवारी दर्ता सकिएपछि साढे ३ बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।
प्रकाशित सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले सम्बन्धित उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। प्रस्तावलाई समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफल हुनेछ। त्यसपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।
मधेश प्रदेश सभामा यसअघि सभामुखको जिम्मेवारी सम्हाल्दै आएका रामचन्द्र मण्डल गत मंसिर ३ गते पदमुक्त भएका थिए। उनीविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता गरिएको अविश्वास प्रस्ताव प्रदेशसभाबाट दुई तिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त भएको थियो।
सभामुख चयनसँगै प्रदेश सभाको कार्य सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।















