५ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
सभापति देउवाले शनिबार बिहान ९ बजे बैठक बस्ने गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन्।
पार्टी स्रोतका अनुसार बैठकमा कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति तथा समसामयिक पार्टीगत विषयमा छलफल हुने छ। महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र आन्तरिक व्यवस्थापनका विषय पनि छलफलको एजेन्डामा रहने बताइएको छ।
नेपाली कांग्रेसले आगामी २६ देखि २८ पुससम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त कार्यतालिकाअनुसार १६ पुसमा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
शीर्ष नेताहरूबीचको छलफलले महाधिवेशनलाई सुव्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक निर्णय र सहमति जुटाउने अपेक्षा गरिएको छ।















