Logo

५ पौष, काठमाडौं । हिरासतमुक्त भएको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक आधारभूमि चितवन पुगेर भावनात्मक र आक्रामक सम्बोधन गरेका छन् ।

शनिबार भरतपुरको चौबीसकोठीमा आयोजित जनसभामा हातमा नेपालको झन्डा फहराउँदै उनले आफू अन्यायमा परेर निस्किएको भन्दा पनि देशले न्याय पाउनुपर्ने अभिव्यक्ति दिएका छन् । लामो समयको न्यायिक प्रक्रिया र हिरासत बसाईपछि सार्वजनिक भएका लामिछानेले आफ्ना समर्थकहरूको भीडमाझ उभिएर अबको लडाइँ व्यक्ति बचाउन नभई देशको बेथिति सुधार्न केन्द्रित हुने उद्घोष गरेका छन् ।

सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवनवासीको अटुट विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे। उनले भावुक मुद्रामा भने, चितवनले मलाई पटक-पटक न्याय दिएको छ, तर अब मलाई होइन, यो देशलाई न्याय चाहिएको छ। उनले आफूमाथि लगाइएका आरोपहरूलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सत्यको जित ढिलो भए पनि सुनिश्चित हुने दाबी गरेका छन् । सम्बोधनका क्रममा लामिछानेले अबको राजनीति केवल निर्वाचन जित्नका लागि मात्र नभई भ्रष्टाचार र विसंगति विरुद्धको निर्णायक आन्दोलन हुने संकेत समेत गरेका छन्

भरतपुरको सडकमा उर्लिएको जनसागरलाई साक्षी राख्दै लामिछानेले पुराना राजनीतिक शक्तिहरूले नयाँ पुस्ताको उदयलाई रोक्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।

झन्डा फहराउँदै उनले राष्ट्रियता र स्वाभिमानको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
रास्वपाका कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उनले अब आफू देशैभरि पुगेर जनतालाई जगाउने अभियानमा लाग्ने बताए। उनको यो सम्बोधनले आगामी राजनीतिक दिशा कता मोडिने हो भन्ने चासो र चर्चालाई थप उचाइमा पुर्‍याएको छ।


सम्बन्धित समाचार