५ पौष, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आफ्नो शक्ति र एकता प्रदर्शन गर्ने उद्देश्यका साथ शनिबार राजधानीमा विशाल एकता सन्देश सभा आयोजना गरेको छ ।
प्रदर्शनी मार्गमा सुरु भएको मुख्य सभाअघि उपत्यकाका विभिन्न नाका र भित्री सडकहरूबाट निकालिएका र्यालीहरूले काठमाडौंको यातायात व्यवस्थालाई समेत प्रभावित पारेका थिए । बागमती प्रदेशस्तरीय यो कार्यक्रमलाई पार्टीको भविष्य र एकताको मजबुत कडीका रूपमा हेरिएको छ, जहाँ हजारौँको संख्यामा कार्यकर्ताहरू रातो झन्डा र नाराबाजीसहित सडकमा उत्रिएका देखिन्थे ।
विभिन्न जिल्ला र स्थानीय तहबाट आएका नेताकार्यकर्ताहरूको व्यवस्थापनका लागि छुट्टाछुट्टै र्याली मार्गहरू तय गरिएका थिए । चितवन, धादिङ, मकवानपुर र ललितपुरसहित काठमाडौंको पश्चिम भेगबाट आएका कार्यकर्ताहरू सुन्धारामा भेला भएर प्रदर्शनी मार्ग पुगेका थिए भने नुवाकोट, रसुवा र उत्तरी काठमाडौंका टोलीहरू रत्नपार्क हुँदै मुख्य मञ्चमा मिसिएका थिए ।
यस्तै, पूर्वी भेगका काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लाका कार्यकर्ताहरू बबरमहलबाट र्याली निकाल्दै प्रदर्शनी मार्ग पुग्दा डिल्लीबजार क्षेत्रबाट पनि ठूलो समूह कार्यक्रम स्थलमा प्रवेश गरेको थियो ।
प्रदर्शनी मार्गको मुख्य मञ्चमा पुगेका कार्यकर्ताहरूले पार्टी एकता र वामपन्थी एकताको पक्षमा जोडदार नारा घन्काइरहेका छन्। सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
यो सभालाई केवल एउटा प्रादेशिक कार्यक्रमका रूपमा मात्र नभई, नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ धु्रवीकरणको सन्देश दिने महत्वपूर्ण राजनीतिक अवसरका रूपमा लिइएको छ । पद्मोदय मोडमा बनाइएको मञ्च वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ भने कार्यकर्ताहरूको उत्साहले प्रदर्शनी मार्ग राताम्मे देखिएको छ ।















