६ पौष, वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ। आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित एक विशेष कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक तथा विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाइएको छ। सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक तथा आपत्कालीन स्वास्थ्य सेवा, क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ।
यसैगरी ओपीडी, डे-केयर, सामान्य बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स-रे, भिडियो एक्स-रे, सीटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। विकासात्मक चुनौती भएका बालबालिकाका लागि छुट सुविधा अझ विशेष रूपमा लागू गरिने जनाइएको छ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका तर्फबाट अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी, प्रमुख सूचना अधिकृत (सीआईओ) इञ्जिनियर प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो। आशा किरण केन्द्रका तर्फबाट संस्थापक एवं अध्यक्ष सुनिल गुप्ता सहभागी थिए।
कार्यक्रममा सशस्त्र प्रहरी पर्सा १३ नम्बर गणका एसपी पूर्णचन्द भट्ट, उद्योगपति सुरेश रुँगटा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष डा. बसन्त पन्तलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
एक वर्षका लागि लागू हुने उक्त सम्झौता आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। कार्यक्रममा सहभागी वक्ताहरूले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वबीचको सहकार्यले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
सम्झौतामा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक तथा अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गरेका हुन् ।














