Logo

६ पौष, काठमाडौँ । आज डिसेम्बर २१ का दिन विश्वभर विश्व ध्यान दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्य प्रवर्द्धनका लागि पूरक तथा प्रभावकारी उपायका रूपमा स्वीकार गर्दै डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो निर्णयअनुसार नेपालले पनि सरकारीस्तरमै यो दिवस मनाउन थालेको हो।

गत वर्ष डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशले संयुक्त रूपमा प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। त्यसपछि गत वर्ष पहिलो पटक काठमाडौँको टुँडिखेलमा सरकारकै आयोजनामा ध्यान दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारी पहलमा दिवस मनाइँदै छ।

विश्व ध्यान दिवसको मान्यता प्राप्त गर्न करिब ११ वर्षसम्म निरन्तर प्रयास गरिएको बताइएको छ। सन् २०१४ देखि यो प्रस्ताव संयुक्त राष्ट्रसंघमा अघि बढाइएको थियो, जसले अन्ततः औपचारिक मान्यता पाएको हो।

दिवसको अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। साथै, दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा अन्तरक्रिया तथा सामूहिक ध्यान कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

विश्व ध्यान दिवसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र समग्र जीवनशैली सुधारमा ध्यानको महत्वबारे विश्वव्यापी चेतना फैलाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार